Monday, March 25, 2013

इतिहासका अपराधी पात्रहरूको थप सूची


काठमाडौं, फागुन ११ । सिक्किमका राजा सिधक्योङ नामग्यालले गुम्बाको भ्रमणमा जाँदा एउटा सुन्दर बालक देखे। रुम्तेक गुम्बामा ६ वर्षको उमेरमै भर्ना भएर बौद्ध धर्मको अध्ययन गरिरहेको सो बालक सुन्दर थियो। बालकलाई उनले केही प्रश्न सोधे, उसले धमाधम जवाफ दियो। राजा अत्यन्त प्रभावित भए। गुम्बामा अध्ययन गरिरहेका दर्जनौं विद्यार्थीमध्येबाट उसलाई छानेर दरबारमा लगे र धर्मपुत्र बनाएर तिब्बती स्कुलमा भर्ना गरिदिए। १६ वर्षको उमेरमा त्यो बालक रुम्तेक गुम्बामै फर्केर आयो र आठ वर्षसम्म त्यहाँको प्रमुख लामा भएर बस्यो।
आफैंले धर्मपुत्र बनाएर हुर्काएको बालकले सिक्किमको राजसंस्था समाप्त पार्ला र राजगद्दीमा आगो लगाइदेला भनेर राजाले सोचेका थिएनन्। कालान्तरमा लेण्डुप दोर्जेको नाममा त्यही बालक राष्ट्रघाती भएर निस्कियो। सन् १९४५ मा उसले सिक्किम प्रजामण्डल नामको संगठन बनायो र १९५३ मा सिक्किम स्टेट कंग्रेस गठन गर्‍यो। त्यतिबेला पनि ऊ राजासँग त्यति टाढिएको थिएन। दरबारकै पैसाले राजनीति गरिरहेको थियो। तर जब ऊ भारतको प्रियपात्र बन्यो, त्यसपछि राजसंस्थाविरुद्ध जाइलाग्न थाल्यो। दिल्लीकै उक्साहटमा उसले राजसंस्था मात्र हटाएन, सिक्किमलाई नै भारतको अंग बनाएर भारतमा विलय गरायो।

भारतका पत्रकार सुनन्दाकुमार दत्त रेले 'स्म्यास एन्ड ग्य्राब एनेक्सेसन अफ सिक्किम' नामक पुस्तकमा सिक्किम विलयको आद्योपान्त चित्रण गरेका छन्। काजी लेण्डुप दोर्जेकी युरोपेली पत्नी एलिसा मारियाले आफ्ना पतिलाई राष्ट्रघाती बनाउन ठूलो भूमिका खेलेको पत्रकार सुनन्दाको तर्क छ। उनले लेखेका छन्, 'सिक्किममा राजाले ज-जसलाई भरोसा गरे, उनीहरूले नै धोका दिए र स्वतन्त्र देशलाई भारतमा विलय गराए।'  राष्ट्रघातीहरूको कथा घीनलाग्दो हुन्छ। उनीहरूले कतिबेला कसलाई धोका दिन्छन् भन्ने अनुमानसमेत गर्न सकिँदैन। कुनैबेला केमाल अतातुर्कको दरबारमा सुसारे भएर बसेकी एलिसा मारियाले विजयशमशेरसँग पनि संसर्ग गरेको कुरा सुनन्दाले लेखेका छन्। एलिसालाई उद्धृत गर्दै उनले ती महिलाले पशुपतिशमशेर राणालाई समेत स्तनपान गराएको चर्चा गरेका छन्। त्यसैले नेपाली पाठकहरूका लागि पनि किताब निकै पठनीय हुनसक्छ।
भारतमा सिक्किमलाई विलय गरेबापत भारत सरकारले राष्ट्रघाती लेण्डुपलाई सन् २००२ मा पद्म विभुषणद्वारा सम्मान गर्‍यो। उनलाई सिक्किमको आर्किटेक्ट भनेर भारतीय पत्रपत्रिकाहरूले गौरवगाथा लेखे। तर सिक्किमका राष्ट्रवादीहरू लेण्डुपको नामसमेत सुन्न चाहँदैनन्।
बाइबलमा 'जुडास स्कारियट' नामक व्यक्तिको कथा आउँछ। उसले शत्रुसँग मिलेर जिसस क्राइस्टलाई मार्न मद्दत गरेको थियो। इसाईहरू जुडासलाई धर्मघाती भन्ने गर्छन्। उसले जिससलाई सार्वजनिक ठाउँमा चुम्बन गरेर शत्रुलाई चिनाउन मद्दत गरेको बाइबलले बताउँछ।
सनयात सेनका उत्तराधिकारी मानिएका वाङ जिङओए चीनका ठूला राष्ट्रघाती मानिन्छन्। डा.सनयात सेनले उनलाई ठूलो विश्वास गरेका थिए। सन् १९३७ मा जापानले नानजिङ सहरमा हमला गरेर चीनलाई तहसनहस बनाएपछि ती राष्ट्रघातीले आफ्नो नग्न चरित्र देखाए। चीनका विरुद्ध नै उनी जासुसी गर्न थाले। भारतका लेण्डुपझैं उनी चीनका गद्दार मानिन्छन्।

प्रहरीको उच्च अधिकृत पदमा बसेर आफ्नै देश अमेरिकाविरुद्ध सोभियत संघलाई गुप्त सूचना दिने रबर्ट हानसेनलाई अमेरिकामा राष्ट्रघाती भन्ने कलंक लागेको छ। त्यस्तै, हलिउडकी कलाकार जेनी फोन्डाले भियतनाम युद्धको बेला अमेरिकाविरुद्ध नै जासुसी गरेको खुलेपछि उनलाई पनि त्यहाँका विश्लेषकहरू राष्ट्रघाती भन्ने गर्छन्।
जुलियस सिजरका भतिजा मार्कोस जुनियस ब्रुतुसले आफ्नै काका जुलियस सिजरलाई हत्या गर्न खोजेपछि उनी इतिहासको दृष्टिमा राष्ट्रघाती ठहरिए। इसापूर्व ४२ मा उनले छटपटाउँदै आत्महत्या गरे। राष्ट्रघाती जहाँ भए पनि उसलाई एकदिन पीडा हुन्छ र आत्मग्लानिले छटपटाउँछ।
अमेरिकी जर्नेल बेनेडिक्ट आर्नोल्ड अर्का राष्ट्रघाती थिए, उनलाई राष्ट्रघातको अभियोगमा सन् १८०१ मा मृत्युदण्ड दिइयो। ब्रिटेन र अमेरिकाको गृहयुद्ध भइरहेका बेला उनले ब्रिटेनलाई मद्दत गरे पनि भागेर त्यहाँ जाँदा ब्रिटेनले शरण दिएन। अन्ततः उनी पक्राउ परे र मारिए।
सन् १९५३ को जुन १९ मा जुलियस र इथेल रोजेन वर्गलाई मृत्युदण्ड दिइयो। उनीहरूले आफ्नै देशविरुद्ध जासुसी गरेर ठूलो राष्ट्रघात गरेका थिए। सोभियत संघका उच्चपदस्थ गुप्तचर अधिकारी दम्पतीले अमेरिकालाई गुप्त सूचना दिएको भन्दै उनीहरूलाई मारिएको थियो।
राष्ट्रघातीको पंक्तिमा भिट्कुन कुइजलिङको नाम निकै अग्रपंक्तिमा आउँछ। सन् १९३३ मा उनले नर्वेमा नेसनल युनिटी पार्टी खोले। सेनाका जर्नेल भइसकेका ती व्यक्ति अत्यन्त महत्वाकांक्षी थिए र हिटलरसँग मिलेर उनले राष्ट्रघातमा मद्दत गरे। जर्मनीको सेनालाई आफ्नो देशमा आमन्त्रण गरेर राष्ट्रिय अस्मितामाथि धावा बोल्न लगाए।
इतिहासका यस्ता अपराधी पात्रहरू नेपालमा पनि प्रशस्तै जन्मिन थालेका छन्। ठाउँठाउँमा उनीहरूको दुर्गन्ध फैलिइरहेको छ। अब त उनीहरूको नाम पनि लिन आवश्यक छैन। स्कुल पढ्ने केटाकेटीहरूले समेत राष्ट्रघातीका नाम भन्न सक्छन्। महाकाली सन्धिदेखि लिएर आजसम्मको घटनाक्रम मात्र हेर्ने हो भने थुप्रै राष्ट्रघातीले नेपालका विभिन्न उच्च पदमा बसेर काम गर्ने मौका पाइसकेका छन्। काम गरिरहेका छन्। आफ्नो देशको भन्दा विदेशी शक्तिको बढी चिन्ता र चासो लिने र देशलाई अप्ठ्यारोमा पारेर भए पनि फाइदा लिइरहन चाहने यस्ता कुतत्वालाई इतिहासले कहिल्यै पनि क्षमा दिनेछैन।

No comments:

Post a Comment