अन्तरिम नामधारी संविधानमा कहीँ–कतै नभएको सर्वोच्चको बहालवाला प्रधानन्यायाधीश सरकारप्रमुख हुने परिस्थिति कहाँबाट, कसरी, किन र कसले ल्यायो? अनि विगतमा जनआन्दोलन दबाएको दोष लागेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहराएको लोकमानसिंहलाई अख्तियारकै मालिक बनाउने अदृश्य शक्ति कताबाट कसरी र किन प्राप्त भयो? दुवै कुरामा हुँदैन भन्ने काङ्गे्रस र एमाले आवाजले किन हावा खायो? भित्री अदृश्य खेल खेल्ने खेलाडी कता छ? त्यस्तो कुरा पत्ता लगाउने यन्त्र नेपालमा छ कि छैन? अझ भन्नुपर्दा मरेको अन्तरिम संविधानको एकैचोटि २५ वटा हाँगाबिँगा फेरबदल गरेर जीवित भएको नाटक रच्ने नाटककार को हुन् र उनी कहाँ छन्? कथंकदाचित आफैँले समातेर आफैँले उचालेर आफैँले भित्तातिर हानेको बल फर्केर आफ्नै टाउको फुटायो भने के गर्ने? लोकमानले नफर्काउन कसरी भन्ने?
बनिसक्यो समय डेन्जर (डरलाग्दो) बनिसक्यो यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्तमानका मै हुँ भन्ने नेताहरूलाई भ्रष्टाचारीमा कारबाही गरी दोषी ठहर गर्ने र कार्यपालिकाप्रमुख र न्यायपालिकाप्रमुख रहेका खिलराज रेग्मीले अख्तियारको सिफारिस कार्यान्वयन गराएर जेल नहाल्लान् भन्ने ग्यारेन्टी के छ? हुँदै जाँदा प्रश्न खडा हुनेछ– विगतमा ०४७ सालको संविधानअनुसार बनेको सरकारले संविधानबमोजिम राजालाई निलम्बन गरी आजको अवस्थासम्म आइपुग्नु अख्तियारको दुरुपयोग हो कि होइन? त्यसरी सिर्जित भएको अवस्थाले लोकमानलाई तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गरेको ठीक कि बेठीक? ठीक भए लोकमानलाई किन अख्तियारप्रमुखमा ल्याइयो? दोषी थिएनन् भने तत्कालीन अवस्थामा निर्दोष व्यक्तिलाई दोषी ठहर गर्नेलाई कारबाही किन नहुने?
खास भन्नुपर्दा यतिबेला लोकमानलाई विगतमा अख्तियारले कारबाही गर्ने काम गल्ती गरेछ भनेर पश्चाताप मान्ने दलीय नेताहरूले अब छिट्टै राजसंस्थामाथि गल्ती भएछ भन्ने स्वीकार गर्न सक्नुपर्छ अनि आफैँहरूले विगत संविधानसभाको निर्वाचनअगाडि संविधानसभाको निर्वाचन भनेको एक युगमा एकपल्ट मात्र आउँछ भनेको सम्झना गरेर फेरि दोस्रो संविधानसभाको निर्वाचन गराउने गोलचक्कर छाडेर सर्वप्रथम ०४७ सालको संविधान क्रियाशील र तत्पश्चात् गोलमेच सम्मेलनमार्फत मुलुकलाई अग्रगति प्रदान गर्नुपर्छ। नत्रभने पुष्पकमल दाहाल प्रचण्ड बिस्तारै परचण्ड बन्नुहुनेछ भनेर सहजै अनुमान गर्न सकिन्छ।
सबैले बुझ्नुपर्छ यतिबेला नेपाल चौतर्फी घेराबन्दीमा परिसकेको छ। पूर्व जाऊँ डढेलोमा पिल्सिने डर, पश्चिम जाऊँ गोमन साप, उत्तर जाऊँ समुद्र, दक्षिण जाउँ अजिङ्गर। यसरी गुजे्रको नेपाल र नेपाली जनतालाई छुटकारा दिलाउन सर्वप्रथम ०४७ सालको संविधान क्रियाशील गराउनुपर्छ अन्यथा जता भए पनि नेपाली जनता पिल्सिने छन्, डसिने छन्, डुब्नेछन् र निलिनेछन्। बेलैमा होस् गरौँ नेपाल बचोस् नेपाली नेपाली नै भएर बाँचिरहून्। – लालकृष्ण धमला
No comments:
Post a Comment